Wednesday, April 11, 2007

बोर्डिङमा निःशुल्क शिक्षा "Good News"

गणेश राई/डम्बरसिं राई
नुनथला -खोटाङ, चैत २६ - पूर्वाञ्चलको दुर्गम जिल्ला खोटाङको नुनथलामा निजी पहलमा स्थापित बोर्डिङ स्कुलले बालबालिकालाई निःशुल्क पढ्ने अवसर दिएको छ । उक्त बोर्डिङले निःशुल्क शिक्षाको अवसर दिएपछि सरकारी विद्यालयसमेत चनाखो भएका छन् । बि्रटिस लाहुरे स्थानीय तेजबहादुर राईले निजी पहलमा यसरी बोर्डिङ सुरु गरेका हुन् । हङकङ कर्मथलो रहेका राईले जग्गा, भवनलगायत संरचनाका साथै आवश्यक शिक्षक व्यवस्था गरिदिएका छन् । विद्यालय सञ्चालनका लागि ३ लाखको तत्काल अक्षयकोष स्थापना भएको छ । आवश्यकता अनुसार विद्यालयलाई खर्च पठाउँदै जाने उनले आश्वासन दिएका छन् । विद्यालयका लागि सम्पूर्ण व्यवस्था गरिदिएकाले संस्थापक दम्पतीको नाममा 'तेज-तुलसी बोर्डिङ स्कुल' नामकरण गरिएको छ । निजी लगानीमा विद्यालय खुलेपछि समुदायले श्रमदानसमेत गर्दै आएका छन् । ४७ वषर्ीय संस्थापक राईले भने- 'मैले जन्मथलोका निम्ति अहिलेसम्म २१ लाख रुपैयाँ लगानी गरेको छु र अझै गर्नेछु । वर्षअघि स्थापित उक्त विद्यालय आइतबार एक समारोहबीच उद्घाटन गरियो । उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन -प्याब्सन) का अध्यक्ष उमेश श्रेष्ठले प्रतिस्पर्धाले शिक्षा गुणस्तर कायम हुने बताए । उनले पुस्तकालयका निम्ति दस हजार रुपैयाँ दिँदै पाठ्यपुस्तक र शिक्षक तालिमका निम्ति सहयोग गर्ने प्रतिबद्धता जनाए ।
आफ्ना नानीहरूले पढ्न पाएपछि अभिभावकहरूमा शिक्षाको गुणस्तरबारे छलफल गर्ने बानीको विकास भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चकुमार राईले बताए । उनले विद्यालयलाई आवश्यक पर्दा श्रमदान गर्न पछि नपर्ने बताए । 'बोर्डिङ सुरु भएपछि गाउँका सरकारी विद्यालयका शिक्षक चनाखो हुन थालेका छन्,' उनले भने । त्यसै समारोहमा स्थानीय गमशेर राईले विद्यालयलाई दुई थान कम्प्युट दिएको जानकारी दिए । तीन कक्षासम्मको उक्त विद्यालयमा ८८ विद्यार्थी अध्ययनरत छन् । त्यहाँ पाँच शिक्षकशिक्षिका कार्यरत छन् । 'निःशुल्क रूपमा पढाउने नीतिअनुसार सीमित विद्यार्थीमात्र भर्ना गर्छौं,' पि्रन्सिपल कृष्णवीर राईले भने- 'न्यून आर्थिक अवस्था रहेकालाई बढी प्राथमिकता दिएका छौं ।' अभिभावक विविता र गंगा तामाङले बच्चाको पढाइमा जग बसाउन बोर्डिङ भर्ना गरेको बताए ।
Source: ekantipur.com

No comments: