Sunday, December 24, 2006

नेपालको मनपरी बन्द

आफ्नो मातृभुमिमा फर्कदाको खुशी कसै गरी पनि व्यक्त गर्न सकिन । लामो समयको बिदेश बसाईपछि नेपाल आएपछि यहाँ खुशी बाँड्दैमा समय बितेको पत्तै भएन । तर आज एक्कासी बिना कुनै सुचना उपत्यका बन्द भनेर नाम दिएको जनतालाई सास्ती दिने बन्दका कारण भने समय काट्न गार्हो भएर फेरी नियमित ब्लगमा फर्केर आएको छु । सबैभन्दा पहिलो कुरा त यहाँको सुस्त ईन्टरनेटले काम गर्ने उत्साहलाई त्यति सारो जगाउन सकेन अर्कोकुरा जहिले पनि व्यस्त हुने अव्यवस्थित कामहरु पनि मेरालागि केहीहद सम्म बाधक बने । जेहोस अब आउँदा दिनहरुमा भने नेपालमा भएका कुराहरुलाई आफ्नो ब्लगमा राख्दै जाने प्रयास गर्नेछु । यही ब्लग लेखनका माध्यमबाट मेरा नियमित ब्लगमित्र राज श्रेष्ठ जीसँग पनि भेट हुने कुरामा अत्यन्तै खु्शी छु आशा छ हामी छिट्टै भेट्ने छौँ । यी त भए आफुना मनका कुरा तर अब भने आजको बन्दका बारेमा केही कुरा गरौँ ।
देशको स्थितीमा फेरी पटक पटक धमिलो छाँया उत्पन्न भएर सिधा सोझा नेपाली जनताहरुले दुःख खेप्ने प्रथाको अन्त्य भएन । सँगै हिँड्ने सहयात्रीहरुसँग छलफल नगरी एकलौटी निर्णय गर्दा सारा नेपालीहले हुनसम्म दुःख पाए । माथि बसेका टाउकेहरुको मनपरी तन्त्रले कहाँ लगेर कसलाई फसाउने हो भन्नेकुरा बुझ्न धेरै गार्हो भएको छ । देशमा दुई बर्ष भन्दा पनि बढी मनपरी गरेर नेपाली जनतालाई दुःख दिने माल्दाईकै गुनगान गाउँदै हिँड्ने शैलजा जीलाई राजदुतको उपाधी टक्रयाएको त मलाई मन परेको भने होईन तर धान खाने मुसो चोट पाउने भ्यागुतो भने जस्तो उनै मनपरी गर्ने तर सारा का सारा जनतालाई दिएको दुःख भने माफी गर्न लायक छैन । कसैलाई केही मन परेन कि सके नेपालै बन्द नसके उपत्यका भए पनि बन्द गराएर सास्ती दिएको देख्दा कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान पनि चरितार्थ भएको छ । हरेक समस्याको समाधान छलफल र आपसी समझदारीबाट मात्र हुन्छ भन्ने कुरा जान्दा जान्दै पनि यो फोस्रो आडम्बरले भने कहिले छोडेन बा । खै सबैले गरेका छन् राजनीति सबै देशमा चलेका छन् सरकार कसैले कुनै देश बन्द गराएको सुनिएको छैन । गरीब देशका धनी नेताहरुले गर्ने राजनीति भनेको यही होला रिस उठ्यो कि बन्द गर्नुपर्ने । अमेरिका बन्द भएको कहिले सुनिएन जापानको टोकियोमा टायर बालिएको कहिले सुनिएन तर हाम्रो देश भने यी थोत्रा टायरहरु सस्तो भएर होला दायाँबायाँ केही हुन पाएको छैन सडकमा बालिहाल्नु पर्ने । सबैलाई थाहा छ यसको धुवाँ कति हानीकारक छ भन्ने । खै के भन्ने यो देशको मनपरि बन्द अझै कतिसम्म माथि पुग्ने हो ।

Note: यो text केही दिन अगाडी लेखेको थिएँ तर इन्टरनेटको व्यवस्था हुन नसकेर राख्न सकेको थिइन । ढिलै भएपनि राख्न मन लाग्यो । Please comment me...

1 comment:

suman said...

bandha ta manpari cha tani nepal ma ...khoi kasle banda garla yo banda .....