के सहमतिमा हस्ताक्षर यस्तै गर्ने विषयमा भएको थियो ?
परिवारमा रुवावासी
छापामार भर्ना गर्न प्रलोभन
काठमाडौं, कार्तिक २९ - माओवादीले आर्थिक प्रलोभनमा पारी छापामार भर्ती गर्न थालेका छन् । उनीहरूले मासिक तलब ८ हजारसम्म पाइने र पछि नेपाली सेनामा गाभिने लोभ देखाउँदै छापामार भर्ना थालेका हुन् ।
प्रलोभनमा परी तेह्रथुमको तीन गाविसका ४२ युवायुवती मंगलबार राति घरबाट भागेर इलामको माओवादी शिविरतर्फ गएका छन् । उक्त समूहमा गएका तीन महिलामध्ये एक अपांगसमेत रहेको पिप्ले गाविसका पूर्वअध्यक्ष ज्ञानबहादुर खत्रीले बताए ।
पिप्ले गाविसबाट मात्रै २२ जना गएका छन् । परिवारले रोक्ने डरले उनीहरू राति १२ बजे घरबाट भागेर गएका थिए । भागेर जानेमा विद्यार्थी सिंहवाहिनी मावि कक्षा ९ का रमेश गडतौला, म्याङलुङ क्याम्पसमा अध्ययनरत महेन्द्र गुरागाईंसहित रहेको स्थानीय खडानन्द गडतौलाले बताए ।
वैदेशिक रोजगारका लागि भिसा आइसकेका पिप्लेका गोपाल दाहाल ८ हजार तलब पाइन्छ भने किन विदेश जाने भन्दै इलामस्थित माओवादी शिविर गएका छन् । त्यस्तै पिप्ले-३ कै छविलाल दर्जी मासिक ८ हजारको प्रलोभनमा परी घरमा एकवर्षे छोरो र श्रीमतीलाई थाहै नदिई शिविर छिरेका छन् ।
सर्लाहीका दर्जनौं गाउँबाट सयौं युवा छापामारमा भर्ती भएका
छन् । माओवादीले सय अमेरिकी डलर तलब र पछि नेपाली सेनामा भर्ना गरिने लोभ देखाएपछि हजारिया, राजघाट, लालबन्दी, नेत्रगन्जलगायत गाविसबाट युवाहरूको ओइरो लागेको छ । भर्ना अभियान चलाएको हल्ला जिल्लाव्यापी छ । भर्ना भएर र्फकेका एक युवकले माओवादीले सामान्य तालिम दिएको बताए । अहिले हरिऔनस्थित चिनी मिलमा सामान्य तालिम दिएको र पछि सिन्धुलीमा विशेष तालिम दिइने जानकारी गराइएको उनले बताए । जिल्ला इन्चार्ज प्रभातले पार्टीद्वारा घोषित युनिफाइड संगठनात्मक अभियान अन्तर्गत संगठित गर्ने काम मात्र भएको बताए ।
चुनाव हुने भएपछि संगठन बढाउने अभियानमा लागेको भन्दै उनले भने- 'संगठित गर्ने, शुद्धीकरण गर्ने र कार्यकर्ता बढाउने क्रम जारी छ, जबर्जस्ती छापामार बनाउने काम भएको छैन ।'
यस्तै संखुवासभामा सोम, मंगल र बुधबार मात्र थप ३८ भन्दा बढी युवा माओवादी छापामारमा भर्ना भएका छन् । भर्ना भएकी सावित्रा पराजुलीलाई खोज्न आएकी उनकी आमा तुलसालाई माओवादीले जिल्लाको आँखीभुइँ पुगेको अवस्थामा टेलिफोनमा बुधबार दिउँसो कुरा गराएका थिए । माओवादी जिल्ला कमिटी सदस्य सविना भट्टराईले दबाबमा भर्ना नगरिएको दाबी गरिन् । उनले दिदिङ-२ बाट २६ गते लिइएका चार किशोरीलाई बुधबार फिर्ता पठाएको बताइन् । 'अभिभावकले नमान्दा नमान्दै पनि भर्ना हुन आउँछन्,' दिदिङ इलाका सचिव बबिताले भनिन् ।
भोजपुरका सयभन्दा बढी विद्यार्थीलाई माओवादीले छापामारमा भर्ती गर्न लगेका छन् । जालपा निमाविका शिक्षक भरत राईका अनुसार खाटाम्मा, चौकीडाँडा र दक्षिण हसनपुरका विद्यार्थीलाई उनीहरूले लगेका हुन् । माओवादीका भोजपुर सहइन्चार्ज निकासले जनवर्गीय संगठन र मोर्चामा आबद्ध सदस्यलाई पूर्णकालीन बनाइएको भन्दै कसैलाई पनि जबर्जस्ती नलगिएको दाबी गरे ।
जबर्जस्ती
उता मोरङ सुन्दरपुर र दुलारी गाविसका १२ भन्दा बढी स्कुले विद्यार्थीलाई माओवादीले छापामारमा भर्ना गर्न बुधबार घरबाट जबर्जस्ती लगेका छन् । छोराहरूलाई तत्काल छाड्न माग गर्दै अभिभावकले सलकपुरस्थित माओवादी पूर्वी कमान्ड कायर्ालयमा एक घन्टा धर्नासमेत दिए । माओवादीले विद्यार्थीहरूलाई अभिभावकसँग भेट गर्न नदिई ट्रकमा हालेर इलामतर्फ लगेको प्रत्यक्षदर्शीले बताए । जबर्जस्ती लगिएका विद्यार्थीहरूमा पञ्चायत मावि गोठगाउँ कक्षा १० मा पढ्ने सुन्दरपुरका सन्तोष लामिछाने, कक्षा ८ का विष्णु दाहाल, साञ्जीलाल उच्च माविमा पढ्ने दुलारीका मनोज गिरी तथा राजदेव चौधरी, कमल विश्वकर्मा, राजु अधिकारी, भरत तामाङ, सानु मिजारलगायत छन् ।
समाचार नलेख्न धम्की
घटनाको समाचार संकलन गर्न पुगेका पत्रकारद्वय गोरखापत्रका अम्बर खडका र स्थानीय उद्घोष दैनिकका सुमन पुरीलाई माओवादीले त्यसबारे समाचार लेखे 'जे पनि गर्न सक्ने' भन्दै धम्क्याएका थिए । दुलारीका 'गाउँ जनसरकार प्रमुख' तुलसी सिम्खडा र सुन्दरपुरका अग्नि सिटौलाले त्यस्तो धम्की दिएको उनीहरूले बताए ।
परिवारमा रुवावासी
बाँके-बर्दियामा गाउँबाट माओवादीले प्रलोभन दिएर र जबर्जस्ती छोराछोरी छापामारमा भर्ती गर्न लगेपछि परिवारमा रुवावासी हुन थालेको छ । नेपालगन्जबाट २५ किलोमिटर उत्तर कोहलपुर गाविस खडकवारस्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयका १३ बालबालिका लगिएका छन् । चार कक्षामा पढ्दै गरेका बालबालिकालाई समेत लगिएको छ । उनीहरूले अभिभावकलाई जानकारी नदिई स्कुलबाटै बालबालिका लगेकाले अभिभावक र शिक्षकहरू चिन्तित छन् ।
कोहलपुरबाट उत्तर जंगल छेउको खडकवार र नयाँबस्ती गाउँबाट मंगलबार पाँच जनालाई लगेका छन् । कोहलपुर-४ र ५ बाट बुधबारसम्म करिब सय जनालाई माओवादीले लगेको स्थानीय बासिन्दाले बताए । शमशेरगन्जस्थित राम माविका चार छात्र र एक छात्रा तथा ज्ञानज्योति माविका एक विद्यार्थी लगेका छन् । बर्दियाको आदर्श मावि मोतीपुरका ११ विद्यार्थीलाई लगेका छन् । तीमध्ये चार छात्रा छन् । बाँकेको गौघाटबाट छ जना र बर्दियाको सानोश्रीबाट छ जनालाई लगेका छन् । बर्दिया मोतीपुर-७ की १४ वषर्ीया स्वस्तिका चौधरीलाई माओवादीले लगेपछि परिवारमा रुवावासी चलेको छ । आमा चुनिया चौधरीले भनिन्- 'खान मन लाग्दैन, दिनरात पीर लागिरहेछ ।' माओवादीले सन्तान लगेपछि कतिपयका बाबुआमा ४/५ दिनदेखि भोकै छन् । बर्दियामा हजारभन्दा बढी युवायुवतीलाई जनमुक्ति सेनामा जागिर दिने आश्वासन दिँदै माओवादीले सुर्खेत र कैलालीतर्फ लगेका छन् । जिल्लाको सानोश्री, ताराताल, पदनाहालगायत राजापुर टप्पुबाट लगेको स्थानीय स्रोतले कान्तिपुरलाई बतायो । स्रोतका अनुसार बुधबार सानोश्रीबाट मात्रै चार वटा ट्रकमा राखेर युवायुवतीलाई सुर्खेत र कैलालीतर्फ लगिएको छ । रामेछापमा गोठगाउँ-३ बाट लगिएका दुई किशोरीका अभिभावकलाई माओवादीले भेटसमेत गर्न दिएका छैनन् । १३ वषर्ीया सम्झना बुढा र १४ वषर्ीया सानु तामाङका परिवारमा रुवावासी छ ।
Source: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=91577
1 comment:
What they heck are they doing ?
Post a Comment