रायमाझी आयोग माल्दाई र पुष्पकमल
देशमा आयोग खोल्ने र कारबाही चलाउने कुरा पनि गफै भयो । माल्दाईले पनि एउटा के जाति शाही आयोग कि खाई आयोग भन्ने खोलेर देशका जनतालाई कम्ता तसा्रएका होईनन् । त्यसको सबैभन्दा मुख्य तारो भएका थिए घरी सक्षम ठहरिने र घरि असक्षम ठहरिने तत्कालीन प्रम शेर बहादुर देउवा जी । कुखुरालाई चारो हाले जसरी घरी दरवार बोलाउने घरि जेल पुर्याउने खेल पनि कम्ता लज्जास्पद थिएन । देशमा उर्लिएको जनलहरले उनलाई धेरै लामो समयसम्म जेलमा त बस्नु परेन तर जेलबाट निस्कने बित्तिकै उनी पनि धेरै बाठो भएर अमेरिकामा के के न पाईन्छ भनेर आँखा चिम्लेर जाँदो भए । समय र परिस्थिती अनुसार काम गर्न नसक्दा उनले पनि अमेरिकामा कालो झण्डाको स्वागत खाएर आफ्नो मुख आफै छोपेर फर्कनुपर्यो । सत्रसाल भाग दुईलाई तह लगाउने सुरले जनआन्दोलन भागदुईले उल्लेखनीय भुमिका खेल्यो । कैयौँ राष्ट्रप्रेमीहरुले आफ्नो ज्यानको आहुति दिएर नै यसका लागि डटेर लडे र अन्ततः सफलता हात लागेरै छोड्यो । कैयौँको ज्यान गयो कैयौँ घाईते भए यसको सम्पूर्ण दोष तत्कालीन राज्यसंचालनका नाममा देश बिदेशबाट झिकाएर मन्त्री बनाईएका धुपौरे मन्त्रीहरुलाई जान्छ । "जसले हान्यो उसले जान्यो" भन्ने नेपाली उखान यति बेला आएर साँचो सावित भएको छ नेपालको इतिहासमा । मर्ने मर्यो मार्नेले मार्यो अब कसलाई यसको लेखाजोखा राख्ने चासो । कारबाही चलाउने नाममा खुलेको यो रायमाझी आयोगले पनि सबैलाई बोलाएर परिचय लियो । तर उसले बयान लिएको भनेर आफ्नो ढ्वागं फुकिरहेको सुन्दा कुन्नी के जाति गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो मलाई त यसको नाम सुन्दा पनि लाज लाग्छ । मैले धेरै पटक आफैलाई यी प्रश्नहरु सोधिहेरे तर उत्तर भने पाईन । के रायमाझी आयोग साँच्चै प्रतिगमनकारीरुलाई कारबाही गराउन स्थापना भएको हो त? यदि हो भने यसले बयान लिएकाहरुलाई के कारबाही गर्यो ? उच्च ओहदा भएकाहरुले गरेको अत्याचारको प्रतक्ष्य असर जसले जन आन्दोलनका नाममा आफ्नो ज्यान गुमाउन र घाईते भएकाहरुलाई परेको छ तर उनीहरुका परिवारले खै के पाए ? के एकदिन रायमाझी आयोगको दैलोमा पाइला राख्दैमा गरेका गल्तीहरु सबै माफी गर्न लायक छन् ? बोलाएर प्रमाण जुटाईसकेपछि आफ्ना कारबाही अगाडी बढाउन नसक्ने पनि कतै संस्थागत रुपमा खोलिएको कार्यालय हुन्छ ? कि यो कहिले पनि न देखेका व्यक्तिहरुसँग हात मिलाउन र सँगै बसेर चियापान गर्न बोलाईएको स्वागत कार्यक्रम जस्तै हो?
यस्ता प्रश्नहरु कति छन् कति तर उत्तर पाउने कमै आशा छ । त्यही भएर पनि होला माल्दाईले पनि रायमाझी आयोगलाई लोप्पा खुवाएका । कारण स्पष्ट नै छ उनलाई किनकी बोलाएर बयान लिएकालाई त केही लछारपाटो लाउन नसक्नेहरुको सामु जानु उनले उचित ठानेनन् क्यारे ।
माल्दाईले जस्तो अन्याय र अत्यचार नेपालमा बिभिन्न नाम दिएर राजनीति गर्नेहरुको पनि कम्ता थिएन । सरकारी पक्षबाट माईलाको अन्याय कति भएको थियो त्यो त इतिहासले कहिले पनि भुल्नेछैन । उता अहिले नेपालका जल्दाबल्दा नायक श्री प्रचन्डजी पनि राजनीतिका नाममा निर्दोष मानिसहरुसँग राज गर्न कम्ता निपुण छैनन् । मुखमा राम जप्ने र भित्र भित्र भएका गल्ती कमजोरीहरुलाई बिनावी भनेर दौडन उनलाई पनि भ्याई नभ्याई छ । यत्रा दुई करोड पचास लाख भन्दा बढी नेपाली जनताका सामु आफूले गरेको बाचाको उलंघन हुँदा पनि केही नबोली बस्ने र साना भन्दा साना कुरामा फरेव खेलेर सबैलाई भ्रममा राख्न कसरी सकेका होलान् । जनयुद्ध नाम दिएको यो १२ वर्षमा कति निर्दोषको ज्यान गयो कैयौँका चुरा फुटे सिउँदो उजाडियो यो कुरा त एउटा मानवले आफ्नो मानवीय धर्म सम्झेर पनि बुझ्नु पर्ने हो । जसले जसरी र जुन तरिकाले जनतामा राज गरे पनि किन यो मान्छेको बली चढाउने खेलको अन्त्य गर्न नसकेका हुन् भन्ने कुराको चाही हामी निर्दोषले कहिले नबुझ्ने सुत्र रहेछ । अहिले पनि धमाधम नावालक केटाकेटीहरुलाई आफ्नो सेनामा भर्ना गरिरहेको खवर पनि प्रशस्त सुन्नमा आईरहेको छ । यदि प्रचन्ड साँच्चै अब नेपालको हित हुने काममा जनतासामु छाती खोलेर खुल्ला दिलले आएका हुन् भने अरुका दिल जलाउने काममा किन अरुलाई प्रोत्साहन गर्छन । जनताले चाहेमा र उनीहरुको सहयोग भएमा जस्तो पनि काम गर्न सकिन्छ भन्ने कुरा त स्पष्ट रुपमा सबैलाई थाहा भएकै छ । राजा ज्ञानेन्द्रलाई जसरी यदि कुनै दिन रायमाझी आयोगले प्रचन्डलाई पनि १२ वर्षको जनयुद्धकमा क्रमममा भएका कमी कमजोरीहरुको छानबिनको लागि पत्र काटेमा यसको उत्तरको आशा नगरे पनि होला । माओवादीका राजा पुष्पकमल दाहाल र दरबारका राजा ज्ञानेन्द्र शाह दुबैले कहिले पनि जनताको भावना अनुरुप काम नगरेको कुरा नेपाली जनता सबैलाई थाहा भईसकेकॊ छ । यदि अब प्रचन्ड साँच्चै जनतासँग सहकार्य गर्न चाहन्छन् भने माल्दाईको व्यवहार नगरे धेरै राम्रो हुन्छ होला ।
1 comment:
मान्छे लाई भत्ता ख्वऊन आयोग गठन गरिया हो भने छुत्तै कुरा नत्र सरकार के हेरेर बसेको हो? दोसी हो भने कि कारबाही गर्नु पर्यो निर्दोशी हो भने ' सार्वजनिक अभिनन्दन्' गर्नु पर्यो
Post a Comment