Monday, March 12, 2007

प्रचण्डलाई चिठी

प्रचण्ड दाई सलाम,
तिमीलाई म यस समयमा लाल सलामै त भन्न सक्दिन किनकी तिमीले त्यसको महत्व सम्म पुग्न अझै धेरै काम गर्न बाँकी छ । तिमीलाई म नराम्रो मान्छे भनेर पनि भन्न सक्दिन र राम्रो मान्छेको सुचीमा राख्न पनि सक्दिन । खै किन किन मेरो मनले त्यसै भन्छ दाई । कुनै एकताका तिमीले जनताको पीर मर्का अनुसार काम गर्ने योजना उठाएका थियौ सार्है खुशी लाग्थ्यो । तिमीले जुन सोच लिएर लिएका थियौ तर तिमी कता हरायौ कता । तिमी हराएको केही समय पछि नै तिम्रो बोलीलाई थिच्न गोली अति नै कठोर र निर्दयी भएर निस्कियो । म त तिम्रो नाम सुन्थेँ कति राम्रो लाग्थ्यो प्रचण्ड भन्ने नाम र सोच्थेँ नाम अनुसारको काम पनि होला भन्ने लख काटेको थिएँ । त्यसताका म सानै भए पनि तिम्रा बारेमा कति कुरा जान्ने प्रयास गर्थे तर मेरो गिदी त्यति बलियो भईसकेको थिएन । जति जति बुझ्ने चेष्टा गर्दै गएँ तिमी कता हरायौ कता । तिमी पनि सार्है मापाका मान्छे रहेछौ बा भन्ने पनि मनमा लागिरहेको थियो । आफ्नो भने एउटा फोटो वा तस्वीर पनि प्रकाशमा नल्याई के के जाति प्रचण्डपथ नाम दिएर अरुले बनाएका बिभिन्न पथ र पुल भत्काएर जनतालाई एक घण्टा लाग्ने बाटो एक दिनको लामो बनाएको देख्दा भने भित्रै देखि सम्हाल्नै नसक्ने गरि रिस उठ्थ्यो । आफू चर्पी बनाउने तर अरुको चर्पी भत्काएर रछ्यान फोहोर पार्ने सार्है घिन लाग्दो काम चाही कति पनि मन परेको थिएन ।
हुन त तिमीलाई पनि थाहा छँदैछ १२ बर्षसम्मको समय भनेको कम्ता लामो समय होईन भन्ने त्यसै बिचमा तिमीले बरु भित्र भित्र धेरै राम्रो काम गरेछौ । आफ्नी श्रीमतीलाई मुख्य सल्लाहकारको पगरी पनि गुथाएछौ, छोराछोरीका लागि सुहाँउदो जीवनसाथीको पनि बन्दोबस्त गरिदिएछौ । जे भए पनि तिमी पनि नेपाली नै हौ भन्ने कुरामा मलाई अब शंका रहेन किनकी तिमीले आफ्नो नीति नियम पुर्याउन भुलेका रहेनछौ ।
अँ साँची दाई एउटा कुरा मेरो मनमा सार्है खेलिरहेछ त्यो के भने आफू जुन संयन्त्र अपनाएर भए पनि आफू र आफ्नो परिवारलाई राम्रो र उन्नती प्रगति गराउन सफल भयौ तर गाँस बास र कपासका खातिर मात्र दुःख गर्ने मजदुर बिद्यार्थी शिक्षक किसान आदिको त सखापै पार्न पनि पछि परेन तिम्रो यो पथले भन्ने पनि तिमीलाई थाहै होला । दोलखाको मैनापोखरी देखि धादिगंको कृष्णभीर हुँदै चितवनको माडीसम्मका जनतालाई आगोको ज्वाला र बन्दुको कुन्दाले दिएको मर्माहत पीडाको बयान कसरी पो बयान गरि साध्य छ र यहाँ । दाई तपाई जस्तो देशलाई केही गर्छु भन्ने मान्छे त यो देशलाई धेरै चाहिएको छ तर तपाईको जस्तो हतियार र मुडेबल बोकेर आउनेलाई यो क्रान्ति भन्ने काम गर्न साथ दिँदैन जस्तो मानेको छ मेरो मनले ।
केही केही यस्ता मान्छेहरु अरु पनि नेपालको ईतिहासमा देख्न पाईयो दाई । तिनै मध्येका ठकुरी माईला भन्ने तानाशाह पनि त नेपालले पचाउनै नसक्ने खालको जब्बर मान्छे पाएछ । आफ्नो परिवारलाई जसरी पनि बचाउने अरुका परिवारको रौँ पनि खोजी खोजी उखेल्ने गर्छ । देशका सोझा सिदा जनतालाई पनि तसा्रए उनले । फेरी उसको छोराको त के कुरा गर्नु र रात पर्न नपाई भट्टी धाउँछ जे नगर भन्यो उही गर्छ । देशका गायक देखि नायकसम्मलाई जनताको रगत चुसेर आएको पैसाले बिदेशबाट झिकाएका महँगा गाडीहरुले किचेर हिँड्ने गर्छ । अब हुँदा हुँदा त दाई आफ्ना मरेका साखासन्तानका जग्गा जमिन पनि आफ्नो नाममा सारिसक्यो रे । कतै तिमीले पनि दाई आफ्नो सत्तामा यस्तै कार्य गरेका पो छौ कि यसो एक पटक सुन्न पाएहुँदी मन चंगा हुने थियो खै तिमी पनि छुट्टै खालका राज्यका बादशाह हौ भन्ने पनि सुनेको छु । कहिलेकाही त खुशी पनि लाग्छ प्रचण्ड भन्ने मान्छेलाई बिश्वभरले चिन्छ भन्दा तर दुःख पनि त्यतिकै लाग्छ तिमीले यति सारो नजाति काम गरेर पनि जनताका सामु सहर्ष गल्ती स्वीकार गरि आफूले गरेका गल्तीहरुको आत्म आलोचन गर्न नसकेको देख्दा । तिम्रा पनि त छोराछोरी रहेछन् नि एउटा बाबु हुन कति गार्हो छ र दायित्व पनि कतिको छ भन्ने कुरा त मलाई भन्दा तिमीलाई नै थाहा होला । मैले त अझै बुझ्न सकेको छैन बाबु हुनुको मज्जा र कर्तब्यको अर्थ । तैपनि दाई कतिका छोराछोरीलाई ढाल बनाएर खै कुन्नी के जाति युद्ध लडेर धेरैका आमाबाबुको छातीलाई चिरेको पनि सबैले सुने र देखेकै छन् । खै मलाई त उनीहरुको रोईरहेको आत्माले तिमीले अँगालेका पाईलालाई अगाडी बढाउन धेरै गार्हो पार्छ जस्तो लाग्छ । कसैका ओठमा हाँसो छैन, आँखामा स्वच्छन्दता र मनमा उमगं छैन । यसो कहिलेकाही घोरिएर सोच्छु नेपालले कस्ता दुई छोराहरु पायो ठकुरी माईलो र दाहाल……(मलाई आशा छ तिमी कतिऔँ जना पछिको सन्तान हौ भनेर यो खाली ठाउँ आफैले भर्नेछौ) ।
तिम्रो यो लाचारपना देखि मलाई पो लाज लाग्छ दाई । आफ्नो रुपको सर्वागं बयान अरुले गरिदिँदा पनि मच्ची मच्ची हाँस्न सक्ने रहेछौ । किन यसरी सारा संसारलाई नै भ्रममा पारेर आफू दुनियाँका सामू निर्भिक भएर हाँस्न सकेको । तिमीले शासन चलाएको इलाकातिर एकताका ठकुरी माईलाले पनि घुमेथे अहिले तिमी घुमे जसरी नै दायाँबायाँ अगंरक्षक राखेर । मलाई त यो अंगरक्षक राख्ने प्रथा पनि मन परेको छैन किनकी जनताका दुःख सुख बाँड्नेले किन फेरी किन जनतालाई नै तसा्रउने महामानव अगाडी पछाडी लगाएर हिड्नु नि । जनताका सामु छाती खोलेर हातमा हात मिलाएर हिँड्नु पर्ने होईन र ? माल्दाईले पनि तारको घेराबाट जनताका कर्मठ हातहरु छोईएला झै गरि फूलमाला लिए । जनताको दुःख सुनेर ठिक ठिक छ भन्दै एक कानले सुनेर अर्को कानले उँडाईदिए । अनि तिमीले पनि कतै माडी जाने असफल प्रयास गर्यौ रे भन्ने पनि सुनेँ तर जसलाई तिमीले भेट्नुपथ्र्यो र हात मिलाउनु पथ्र्यो अनि तिम्रो सहयोगको आवश्यक्ता थियो त्यहाँ सम्म पुग्ने सहास पनि गरेनौ रे ।
अहिले पनि मनमा कता कता चिसो पस्छ एकपटक नराम्रो काम गर्न पो मान्छेलाई लाज लाग्छ तर लाजशरम पचिसकेपछि जतिबेला जे गर्न पनि आफ्ना धुपौरेहरुलाई हौसला दिन्छौ कि भन्ने । हुनत तिमीले अब शहरको रमझम र पाँचतारे होटलका सेकुवाको साथमा पाउने सुबिधाको स्वाद पाईसकेका छौ त्यसैले पनि तिम्रो बुद्धी त्यति सम्म नगिर्ला कि जस्तो पनि लाग्छ । यो मन न हो दाई प्रश्नमाथि प्रश्नहरु आई रहन्छन् फेरी कतै शहरमा नै हराएर तिमी बिलाउने हौ कि जस्तो पनि सोच्छु ।
तिमी त देशका लागि गरीब किसान र मजुरका छोराछोरीको जीवनस्तर उकास्न अक्लल लगाएर काम गर्ने खालको मान्छे हौ रे भनेर पनि कता कता गुनगुनाएका थिए तिम्रा अनुयायीहरुले । तर तिमी यो शहर छिरेको यत्रो समय भईसक्दा पनि तिमीले केही काम गर्ने मनसुवा नगरेको देख्दा त झनै अत्यास लागिसक्यो भन्या यहाँ । फेरी पनि देश आगोको लप्कामा जलिरहँदा पनि तिमी लगायत के के न गर्छु भनेर भुक्नेहरुले केही लछारपाटो लाउन नसकेको देख्दा भने लाज पो लागिरहेको छ । दाई दिनका दिन यी मोटर कार र रक्षक फेरी फेरी हिँडेर समय बर्वाद पार्नुको सट्टा एकछिन सबै जना बसेर समस्याको समाधान कसरी गर्ने भन्ने कुरा सोच्नेपो हो कि । समय अभावका कारण तिमीलाई मनमा आएका धेरैकुरा एकैपटक लेख्न सकिन । यदि तिमीले राम्र्रो र न्यायसंगत काम गरेको खण्डमा म जस्ता साथीभाईहरुको साथ अनि तिमीलाई शुभकामना पनि छ ।

3 comments:

Anonymous said...

Kutte bhi yasai bhookte, " Saying that keep it up" Lekin kutte to kutte hote he na?

Raj Shrestha said...

chitti ramro lagyo

Ajaya said...

It's nice , I read it on mysansar