नेपालको कानून पशुपतिनाथ नै जानून्
त्यसका बाउको समझदारी भयो भयो भनेर त सबैजना चिच्याईरहेका छन् । देशका टाठाबाठाहरुलाई दशैँ आयो जस्तो भईरहेको होला । केही न कामका भाषण र सभाहरु गरेर समय बर्बाद गरिरहेछन् । बाहिर बाहिर शान्तिको ढ्वागं फुकेर भित्र भित्र जनता सताउने खेल पनि कम्ता रिस उठदो छैन यार । उता प्रचन्ड भन्ने मान्छे नै छैन यो सबै झूठो हो भनेर दोधारमा पर्नेहरु पनि अहिले तिनै प्रचन्डलाई काँध हाल्न पछि परेका छैनन् । यो समाजमा जो आफू अगाडी पर्छ उसलाई खुट्टामा ढोगीदिने र पछाडि पर्ने बित्तिकै धारे हात लागाउने बानी कै उपज होला यो । भनिन्छ (all good deeds erases bad deeds) हरेक राम्रा कामहरुले नराम्रा कामहरु मेटाईदिन्छ भनेर । तर अझै पनि आफ्ना गल्तीहरु दोहेर्याई तेहेर्याई गर्न पछि परेका छैनन् । एकपटक छापामा सम्म आएको थियो प्रत्येक घरमा १० देखि १५ जना माऒवादी पाल्नुपर्ने रे भनेर । अध्यक्षजीले भने उनको कार्यक्रम अहिले नहुने घोषणा गर्दा पनि उनका कार्यकर्ताहरु भने घरघरमा खाना खान पाउनुपर्ने र सुत्न पाउनुपर्ने माग राख्दै अरुलाई सताउन छाड्ने होईनन् । अब त देशमा कति सजिलो भयो भने जसलाई बास बस्न मन लाग्यो म यो पार्टीको यस्तो कामको लागि आएको हो खान र बस्न दिनुपर्यो भने भईहाल्ने । सहमति बिपरित जसले काम गर्छ ऊ कानूनको भागिदार हुन्छ भन्ने पनि सुनिएको थियो तर "नेपालको कानून पशुपतिनाथ नै जानून्" झैँ भईरहेको छ ।
साँच्चै अब त विजय जुलुस र नाराहरु पनि सकिए होलान् नि कि अझै खाइँदैछ ५ तारे होटलमा सेकुवा र ह्वीस्की ? अब त आफूले बोलेको काम तिर लाग्नुपर्ने हो नि सबैजना । उनीहरुले पत्रपत्रिकामा राजालाई यसो गर्यौँ र उसो गर्यौँ भनेर जति चिच्याए पनि के राजा चाहीँ कानमा तेल हालेर बसेका होलान् र शासन, सत्ता, र सुन्दरी यी तिनै कुराले त नपुगेर संसारभर व्यपारको नाउँमा सुर्ति देखि मुर्तिसम्म व्यापार गर्न भ्याउने राजाका हातमा पक्कै पनि दही जमाईएको छैन होला । उनले पनि आफू चेकमा नपर्ने गोटी कुनै पनि तत्व लागाएर चलिरहेका छन् भन्ने कुरामा कुनै शंका गरिरहनु पर्दैन । देशमा लोकतन्त्र आयो अब गणतन्त्रका पक्षमा काम गर्नुपर्छ भन्नेहरु आफ्नो हातमा भएको सत्ताको समेत सदुपयोग नगरी राजालाई कहाँ राख्ने भनेर ठाउँको खोजीमा लागिरहेको देख्दा भने अचम्म लाग्छ । त्यत्रो ४० हजार रोपनी जग्गादेखि लिएर देश बिदेशमा समेत व्यापार व्यवसाय गर्दै आएका राजालाई पनि ठाउँ मिलाईदिने नेपालमा राजनीति गर्ने महोदयहरु पनि कम्ता दयालु हैनन् । यसैगरी एउटा पक्षले कुरा मात्रै गरेर बसिरहने हो भने देशमा फेरि अर्को आतंका मच्चिन बेर छैन (मेरो भनाईको अर्थ के हो भनेर त भनिरहनु जरुरी छैन किनकी अब नेपाली जनता आँ गर्दा अलंकार बुझ्ने भईसकेका छन्) । सबैजना अब मुख भन्दा काम तिर लागे सबैको भलो हुने देखिन्छ ।
3 comments:
A balanced analysis of real situation. I like it
ho giri ji ho ramro lagyo article
"यो समाजमा जो आफू अगाडी पर्छ उसलाई खुट्टामा ढोगीदिने र पछाडि पर्ने बित्तिकै धारे हात लागाउने बानी कै उपज होला यो" - ठीक भन्नु भो । हामी कटु
कुरा सुन्न चाहँदैनौ र पछाडी कुरा पनि काटन छोडदैनौ, जसको कारण कुनै निश्चित टुँगोमा कुनै कुरा पुग्न सकिएको छैन।
Post a Comment